
मेचीनगर, माघ १४ । झापाको मेचीनगरस्थित ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम रोकिएपछि स्थानीय युवाले संघीय सांसद विश्वप्रकाश शर्मा, प्रदेश सांसद गोपाल तामाङ र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीविरुद्ध दबाबमुलक कार्यक्रम सुरु गरेका छन् ।
स्थानीय युवाहरुले निर्माणाधीन झोलुङ्गे पुलमा उभिएर ‘सांसद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखिएको प्ले कार्ड बोकेर विरोध जनाएको ज्यामिरगढीका युवा जयराम दाहालले जानकारी दिए ।
मेचीनगर-१५ कै हेल्दुबारी र बिचार्नीलाई जोड्ने निन्दा खोलामाथि निर्माण हुँदै गरेको झोलुङ्गे पुल बजेटको अभावले निर्माणको काम रोकिएपछि ज्यामिरगढीका स्थानीयहरु समस्यामा परेका छन् ।
पुलको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले युवाहरुले दबाबमुलक कार्यक्रम गरेको दाहालले बताए ।
ज्यामिरगढी क्षेत्रका लागि लाइफलाइनका रुपमा रहेको झोलुङ्गे पुलको निर्माण कार्य रोकिँदा पनि यस क्षेत्रका संघीय सांसद विश्वप्रकाश शर्माले बेवास्ता गरेको भन्दै स्थानीय युवाले सांसद हराएको सूचना जारी गरेको दाहालको भनाइ छ ।
शर्माले पुलको शिलान्यास गरेपछि अहिले पुलका लागि खासै पहल नगरेको र पुलको अवस्था हेर्नसम्म नआएको तथा उहाँ बेखबर जस्तो भएपछि सासंद हराएको सूचना लेखेर ध्यानाकर्षण गरिएको हो ।
मेचीनगरका नगरप्रमुख बुढाथोकीले धेरैपटक झोलुङ्गे पुलको काम चाँडै पुनः सुरु हुने आश्वासन दिए पनि काम अझै सुरु हुन नसकेको मेचीनगर १५ की रुही राजवंशीले बताइन् ।
सो स्थानमा पुल नहुँदा स्थानीयहरु बर्खामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । निर्माणको काम रोकिएपछि झोलुङ्गे पुलमा लगाउन राखिएको पुलको फलामको लठ्ठामा खिया पर्न थालेको छ भने अन्य निर्माण सामग्रीहरु समेत अलपत्र अवस्थामा रहेको छ ।
संघीय सांसद शर्मा र प्रदेश सांसद गोपाल तामाङले निर्वाचित भएपछि पहिलो कार्यक्रमका रुपमा उक्त झोलुङ्गे पुलको २०७९ कात्तिक १० गते शिलान्यस गरेका थिए ।