बिर्तामोड, फागुन २९ । झापाको हल्दिबारीमा आइतबार दिउँसो भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल जुध्दा घाइते भएका चारजनामध्ये एकजनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो ४ः४५ बजेको समयमा हल्दिबारी १ काजलीचोकमा बिर्तामोडबाट जलथलतर्फ जाँदै गरेको मे. ८ प ८१२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे. १० प ६५१५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा चारजना घाइते भएका थिए । घाइतेमध्ये मे. १० प ६५१५ नम्बरको मोटरसाइकल चालक कचनकवल ३ बस्ने २२ वर्षीय भवानीप्रसाद खतिवडा रोशनको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार घाइतेको टाउकोमा चोट लागेको थियो । बिएन्डसी हस्पिटलको सघनकक्षमा उपचार भइरहेका खतिवडाको हिजै बेलुका मृत्युु भइसकेको भए पनि अस्पतालले आज मात्र मृत्यु भएको घोषणा गरेको जनाइएको छ ।
सोही मोटरसाइकलको पछाडि रहेका सोही ठाउँ बस्ने २१ वर्षीय शिवुलाल कार्कीको टाउकोमा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।
दुर्घटनामा मे. ८ प ८१२ नम्बरको मोटरसाइकल चालक कचनकवल–१ बस्ने १९ वर्षीय सुजन तामाङको टाउको, अनुहार र दाहिने खुट्टामा चोट लागेको थियोे । उनको अवस्था अहिले मध्यम रहेको छ ।
सोही मोटरसाइकलको पछाडि रहेका गौरादह–१ बस्ने १८ वर्षीय पुकार कटुवालको दाहिने हातमा चोट लागेको थियोे । उनको अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको जनाइएको छ ।