२०८१ मंसिर १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

जेके गुरुङले फेरेको आँखा अस्पतालको मुहार, नेत्र चिकित्सा अध्ययनको तयारी


बिर्तामोड, जेठ ३० । विगत २८ वर्षयता नेपाल, भारत र बंगलादेशका बिरामीलाई आँखासम्बन्धी उपचार सेवा दिँदै आएको मेची आँखा अस्पतालमा नेत्र चिकित्सा तथा प्रविधिसम्बन्धी अध्ययन हुने भएको छ ।

अध्ययनका लागि नेसनल एकेडेमी अफ मेडिकल साइन्स (नाम्स) सँग सम्झौता भइसकेको अस्पतालका अध्यक्ष जलकुमार (जेके) गुरुङले जानकारी दिए । निकट भविष्यमा सम्पूर्ण मापदण्ड पूरा गरेर कलेज सञ्चालन गरिने उनले झापा टुडेलाई बताए ।

त्यस्तै, रोटरी क्लबसँगको सहकार्यमा मोबाइल ओपथाल्मिक भ्यान सञ्चालनको तयारी सुरु गरिएको छ । आँखा अस्पतालमा हुनुपर्ने सम्पूर्ण उपकरणसहितको सो भ्यानले आँखा शिविर तथा बिरामी भएकै ठाउँमा पुगेर उपचारमा सघाउने गुरुङले बताए ।

कागजात तथा अन्य प्राविधिक कामले ढिलाइ नभएमा अबको छसात महिनाभित्र सो मोबाइल भ्यान बिर्तामोड आइपुग्ने आशा राखिएको छ ।

अस्पतालले कोर्निया तथा रिफ्राक्टिभ सर्जरी, मायोपिया क्लिनिक, रेटिना, अकुलोप्लास्टी, अर्थोअप्टिक जस्ता सेवाहरूको लागि अत्याधुनिक उपकरणहरू जडान गरेको छ ।

अस्पतालमा लेजर अप्रेसनको सुरुवात गरिएको छ । लेजर अप्रेसन गरेका आँखाका बिरामीले चश्माको प्रयोग गरिरहनु पर्दैन ।

अध्यक्षको रुपमा गुरुङ आएपछि अस्पतालमा व्यापक सुधारका कामहरु भइरहेका छन् । सैनिकमोडमा सरेको डेढ दशक बितिसक्दा पनि अस्पतालले वातावरणीय प्रभाव मूल्यांकन गर्न सकेको थिएन ।

तर, स्पष्ट दृष्टिकोण, प्रस्ट योजना र काम गर्ने इच्छाशक्ति भएकै कारण गुरुङले वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुर्याएका छन् । अबको केही दिनमै स्वास्थ्य र वातावरण मन्त्रालयले प्रमाणपत्र दिने उनले बताए ।

गुरुङ अध्यक्ष भएर गरेको पहिलो निर्णय थियो, अस्पतालमा नाला बनाउने । पानीको निकास नहुँदा अस्पतालमा पानी जम्थ्यो ।

दोस्रो निर्णय थियो, पर्किङ । हाल अस्पतालमा अन्तर्राष्ट्रियस्तरको सवारी साधन पार्किङ छ । झापाको एक मात्र साइकल पार्किङ छ । निकट भविष्यमा बहुतले पार्किङ बनाउने गुरुङले योजना सुनाए ।

बिरामीको सुविधाको लागि अस्पतालमा दुईवटा लिफ्ट धमाधम निर्माण भइरहेका छन् । आकर्षक पार्क बनिसकेको छ । सुन्दर झार र फूलले गर्दा बिरामीले आनन्द लिने गरेका छन् ।

आइल्यान्डमा राखिने आकृतिको डिजाइन भइरहेको छ । बालिकाले ज्येष्ठ नागरिकलाई डोहोर्याउँदै गरेको आकृति अस्पतालको अग्रभागको गोलाइमा बस्ने गुरुङले बताए ।

बिरामी र कुरुवाका लागि बस्ने ठाउँ, चिकित्सक र कर्मचारीका लागि स्तरीय तथा आकर्षक खेलमैदान तथा थप आवास, उपचार तथा जाँच कक्षहरु थप, बनियानी र भद्रपुरमा आफ्नै भवनसहितको आँखा अस्पतालको सञ्चालनको अन्तिम तयारी लगायतका काम गुरुङ अध्यक्ष भएर आएपछि भएका काम हुन् ।

चार बिघा क्षेत्रफलमा रहेको अस्पतालमा व्यापक सुधार आउनुको कारण गुरुङ अनुभवी भएर नै हो । व्यवस्थापकीय जिम्मेवारीमा उनी निपुण भएकै कारण परिवर्तन आएको हो ।

मेची आँखा अस्पताल सामुदायिक अस्पताल भएकाले रकम अभावमा उपचारबाट कोही पनि बञ्चित हुनु नपर्ने उनको भनाइ छ । गुरुङ आफ्नो सफलताबारे भन्छन्, ‘आफू जे कामका लागि हो, त्यसमै केन्द्रित हुनुपर्छ, अनि मात्र प्रतिफल आउँछ । नत्र लथालिंग हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer