२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

शिवसताक्षीमा शिक्षकको पिटाइबाट विद्यार्थी घाइते


बिर्तामोड, भदौ ५ । झापाको शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन् । कुटपिटबाट घाइते उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

कक्षा ६ मा अध्ययनरत छात्रा अञ्जली गुरुङलाई कक्षाकार्य गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतीराज निरौलाले पाइपले पिटेका हुन् ।

छात्राको कम्मरमाथिको भाग डडेल्नोमा तीनवटा नीलडाम छन् । छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् ।

उनी शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ शिवसताक्षी नगरका सचिवसमेत हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताएका छन् ।

बुधवार कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो । विषय शिक्षक निरौलाले कक्षाकार्यका लागि सबै विद्यार्थीलाई अह्राए । अञ्जली त्यत्तिकै बसेकी थिइन् ।

शिक्षक निरौलाले अञ्जलीलाई सोधे, ‘तिमी क्लास वर्क गर्दैनौँ ?’ उनले शिक्षक निरौलालाई जस्ताको त्यस्तै जवाफ फर्काइन्, ‘आउँदैन सर ।’

शिक्षक निरौलाले हातमा विद्यार्थी तर्साउनका लागि बोकेको पाइपको छडीले ‘ड्याम कि ड्याम’ हिर्काएको अन्य विद्यार्थीहरुले बताएका छन् । जसबाट अञ्जलीको डडेल्नोमा तीनवटा नीलडाम बसेका छन् ।

घाइते अञ्जलीलाई विद्यालय हाताबाटै एम्बुलेन्सले उपचारका लागि अस्पताल ल्याएको थियो । विद्यालयका प्रधानाध्यापक भवानी थापाले शिक्षक निरौलाले गम्भीर त्रुटि गरेको स्वीकारे ।

Adv footer