बिर्तामोड, भदौ १३ । झापा अर्जुनधाराको लंका होटल सञ्चालकले ‘बलात्कार मुद्दामा लंका होटलका सञ्चालक राजवंशी पक्राउ’ भनेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन् ।
सञ्चालकमध्येका एकजना गोपाल पोखरेलले विज्ञप्ति जारी गर्दै अर्कै व्यक्तिलाई बलात्कारजस्तो जघन्य अपराधमा पक्राउ गरेर होटल सञ्चालक भन्दै प्रचार गरिनु दुःखद भएको बताएका छन् ।
उनले प्रहरीलाई स्रोत मानेर विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सुनिल राजवंशी (लंका राजवंशी) लाई होटल व्यवस्थापनले नचिनेको बताएका छन् ।
होटलसँग असम्बन्धित व्यक्तिलाई होटलको सञ्चालक भन्दै प्रचार गरिएकोमा आपत्ति जनाउँदै पोखरेलले स्थापनादेखि नै लंका होटलको सञ्चालक आफू बताएका छन् ।
उनले गलत प्रचारले समाजमा भ्रम उत्पन्न गराएको भन्दै त्यस्ता भ्रमपूर्ण समाचारको विश्वास नगर्न सार्वजनिक अपिल गरेका छन् ।
भदौ ७ गते अर्जुनधारा-५ की एक किशोरीलाई स्थानीय सातजना युवाले जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको थियो ।
घटनामा संलग्नमध्ये छजना पक्राउ परेका छन् । एकजना अझै भागिरहेकाले प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।
विज्ञप्तिमा पीडितलाई न्याय र पीडकलाई कानुनअनुसार सजाय दिन अनुरोध गरिएको छ ।
अर्जुनधारा क्षेत्रमा बढिरहेको चोरी, डकैती, लागुऔषध कारोबार तथा यौन हिंसाका घटना न्यूनीकरणका लागि होटल व्यवस्थापनले प्रशासनसँग हातमा हात मिलाएर अघि बढ्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।