बिर्तामोड, भदौ १९ । मोरङको सुन्दरहरैँचामा मृत भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट अस्वस्थ अवस्थामा भेटिएकी छन् ।
आज बिहान उनी बिर्तामोडको सिटीसेन्टरबाट पक्राउ परेकी हुन् । भदौ १५ गते सुन्दरहरैँचा–७ नारायण न्यौपानेको केराघारीभित्र दुई नाबालिका मृत भेटिएका थिए ।
धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आयिका कार्की र १ वर्षीया अर्पणा कार्की मृत भेटिएपछि आमा अस्मिता न्यौपाने कार्की बेपत्ता थिइन् ।
हिजो साँझ सिटीसेन्टरस्थित एक घरमा बास माग्दा घरधनीले बास दिएका थिएनन् । त्यसको जानकारी पाएर इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले खोजी गरेको थियो । तर, उनी राति भेटिइनन् ।
आज बिहान करिब ५ बजे सिटीसेन्टरमै बेलबारी प्रहरीको टोलीले उनलाई भेटेर मोरङतर्फ लिएर गएको बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
ती दुई बालिकालाई विष खुवाएर हत्या गरिएको आशंका गरिएको छ । घटना भएको ५ दिनपछि अस्वस्थ्य अवस्थामा भट्टाएर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ ।