बिर्तामोड, भदौ २५ । झापाको बिर्तामोडमा रहेको स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् ।
एनेस्थेसिया सम्बन्धी चिकित्सक बिना नै हेल्परले अप्रेशन गर्दा बिरामीको मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरेका हुन् ।
दुर्घटनामा घाइते भएका भारतको बिहारस्थित जोगबनी घर भई हाल फिदिम नगरपालिका वडा नम्बर २ पल्लोटारमा बस्दै आएका ३० वर्षीय मोहमद इर्साद हुसेनको उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको हो ।
त्यसपछि आफन्तहरुले अस्पतालमा होहल्ला गरेपछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो ।
अस्पतालमा तनाव भएपछि प्रहरी पठाएर स्थिति सामान्य बनाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
उनले अस्पताल पक्षले उपचार खर्च मिनाहालगायत लेनदेनमै विवाद मिलाएको कुरा सुनेको जानकारी दिए । त्यसपछि मृतक परिवारले शव बुझेका थिए । हुसेन पाँचथरको एक ट्रयाक्टर ग्यारेजमा काम गर्दथे ।
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर २ लाँलीखर्कस्थित मेची राजमार्गमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको प्र १–०१–००१ ख ४३३४ नम्बरको ट्रक र फिदिमतर्फ जाँँदै गरेको हुसेन चढेको मे. ८ प ७९०४ नम्बरको मोटरसाइकल शनिवार दिउँसो १२ बजे एकापसमा ठोक्किएको थियो । तिघ्रामा चोट लागेर हुसेन गंभीर घाइते भएका थिए ।
उनलाई पाँचथर जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि सोही दिन बेलुका स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा रिफर गरिएको थियो ।
ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर २ काबेली निवासी ३६ वर्षीय तिलक भण्डारीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ।