बिर्तामोड, असोज ७ । देशभर मनसुनी वायुको प्रभाव रहेको बेला पूर्वी नेपालमा आज राति वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
पाँच दिनयता लगातारको उच्च तापक्रमले झापासहित पूर्वी तराईका बासिन्दा गर्मीका कारण आजित बनिरहेका बेला आज राति पर्ने खबरले खुसी हुने छन् ।
यतिबेला मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
आज राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।
वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
भोलि मंगलबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सम्पूर्ण प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।