दमक, असोज १४ । झापाको कमल गाउँपालिकामा किस्ने खोलाले बगाएर बेपत्ता भएका वडा नम्बर १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी तीन दिनपछि मृत भेटिएका छन् ।
आज बिहान ८ः३० बजे उनलाई प्रहरी टोली र स्थानीयबासीले खोजतलास गर्ने क्रममा मृत भेट्टाएका हुन् ।
घटनास्थलदेखि करिब ३ किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ ७ बजे कमल- १ स्थित कृष्णे खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर उनी बेपत्ता भएका थिए ।
अविरल वर्षापछि आएको बाढीले शुक्रबार झापामा डुबेर तीनजना बेपत्ता भएका थिए ।
जमुना खोलाले बगाएको दुई दिनपछि कचनकवलकी १५ वर्षीया नेहारिका राजवंशी हिजो मृत भेटिएकी थिइन् ।
त्यस्तै, गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ बगहाचौधरी र वडा नम्बर ४ को बेलडाँगीबीच सिमानामा रहेको किस्ने खोलाको पुलबाट हामफालेका केमालाल ताजुरियाको शव शनिवार साँझ भेटिएको थियो ।