बिर्तामोड, असोज २४ । शिवसताक्षी १ खेलकुद विकास समितिले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि युवातर्फ वडा नम्बर २ ले जितेको छ ।
युवातर्फको फाइनल खेलमा वडा नम्बर ८ लाई १–० गोलअन्तरले पराजित गर्दै वडा नम्बर २ ले उपाधि जितेको हो ।
शिवसताक्षी १ को फूलबारी खेल मैदानमा भएको खेलको इन्ज्युुरी समयम वडा नम्बर २ का विनोद खड्काले गोल गरेका थिए ।
उपाधिसँगै वडा नम्बर २ ले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता वडा नम्बर ८ ले नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
खेलको प्लेयर अफ द टुर्नामेन्ट विजेता टिमका जोन मर्डी घोषित भए । प्लेयर अफ द म्याच एक गोलकर्ता खड्का भए ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर विशाल घतानी भए । प्रतियिगिताको उच्च गोलकर्ता आयोजक वडा नम्बर १ का याम खेवा घोषित भए ।
यसैबीच, भेट्रानतर्फको उपाधि वडा नम्बर १ ले जितेको छ । वडा नम्बर २ लाई २–० गोलअन्तरले हराउँदै वडा नम्बर १ ले उपाधि जितेको हो ।
खेलको १६ औँ मिनेटमा वडा नम्बर १ का आशिष गिरीले गोल गरे । त्यस्तै, इन्ज्युरी समयमा लीलाबहादुर जोशीले गर्दै खेल २–० बनाएका थिए ।
उपाधिसँगै वडा नम्बर १ ले नगद ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेतामा चित्त बुझाएको वडा नम्बर २ ले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिमका शिवकुमार लिम्बू भए । उत्कृष्ट गोलकिपर वीरबहादुर कार्की र उच्च गोलकर्ता आशिष गिरी भए ।
प्लेयर अफ द टुर्नामेन्ट अम्मर लिम्बूले प्राप्त गरे । विधागततर्फ पनि विजेता टिमकै वर्चश्व रह्यो ।
प्रतियोगितामा शिवसताक्षी नगरका युवातर्फ ११ टिमको र भेट्रानतर्फ ८ टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिपक दाहालले जानकारी दिए ।
विजेता तथा उपविजेतालाई वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ, विनोद ढकाल, कार्यक्रमका अध्यक्ष दिपक दाहाल, वडा नम्बर २ का वडा सदस्य यामकुमार राई, अर्जुन राईलगायतले पुरस्कार वितरण गरेका थिए ।