२०८३ जेठ १ शुक्रबार
Jhapa Today
Adv top

हक्की फाइभ एसको उपाधि हक्की स्टार्स र रेबेल गर्ल्सलाई


बिर्तामोड, असोज २४ । झापामा पहिलोपटक भएको दसैँ कप हक्की फाइभ एस च्याम्पियनसिपको उपाधि हक्की स्टार्स र रेबेल गर्ल्सले जितेका छन् ।

भद्रपुरको पुहाँतु जनज्योति माविको खेल मैदानमा भएको खेलमा पुरुषतर्फ द सुटरलाई पेनाल्टीमा हराउँदै हक्की स्टार्सले उपाधि जितेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टीमा हक्की स्टार्सले द सुटरलाई ३–१ गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो ।

त्यस्तै, महिलातर्फ यङ गल्र्सलाई पराजित गर्दै रेबेल गर्ल्सले उपाधि जितेको हो । पुरुषतर्फ ऋषभ चौधरी र महिलातर्फ पूर्णिमा राई प्लेयर अफ द टुर्नामेन्ट भए । प्रतियोगिताको विजेताले नगद १० हजार र उपविजेताले नगद पाँच हजार, ट्रफी पाए ।

झापा जिल्ला हक्की संघले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ द सुटर, गोल हन्टर, द स्ट्राइकर्स, हक्की स्टार र यङ ब्वाइजको टिमले सहभागिता जनाएका थिए । महिलातर्फ यङ गर्ल्स र रेबेल गर्ल्सको टिमले प्रतिस्पर्धा गरेका थिए ।

बडादसैँको उपलक्ष्यमा भएको प्रतियोगिता झापामा हक्कीका खेल सामग्री खरिद गर्न र खेललाई झापामा लोकप्रिय बनाउन आयोजना गरिएको हो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, संघका अध्यक्ष मनोज बुढाथोकी लगायतले पुरस्कार वितरण गरेका थिए ।

Adv footer