बिर्तामोड, असोज २५ । झापाको भद्रपुरस्थित चारआली-चन्द्रगढी सडक खण्डमा दुईवटा मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।
हिजो राति अन्दाजी २१ः५० बजेको भद्रपुर १० हनुमानचोकमा भएको दुर्घटनामा भद्रपुर १० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल पुर्याउनसाथ चिकित्सकले २२ः४३ बजे मृत घोषणा गरेका थिए ।
त्यस्तै, सोही स्थानका २४ वर्षीय बिपान्सु राउतको ओमसाई पाथिभरा अस्पतालमा उपचारपछि हाल बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा अर्का घाइते २५ वर्षीय सञ्जीव गिरीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । पछाडि बसेका उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
प्रहरीका अनुसार चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे. ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए ।
भण्डारीले प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाईकल चलाएका थिए भने उनको पछाडि राउतको बसेका थिए । त्यस्तै, गिरीले मे. ८ प २८३५ नम्बरको मोटरसाइकल चलाएका थिए ।