२०८१ कार्तिक ९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पोलियो दिवसमा बिर्तामोडमा सचेतनामूलक प्रभातफेरी


बिर्तामोड, कात्तिक ८ । सचेतनामुलक प्रभातफेरी निकालेर बिर्तामोडमा विश्व पोलियो दिवस मनाइएको छ । हरेक वर्षको अक्टोबर २४ मा यो दिवस विश्वभरि मनाइन्छ ।

इलामसहित झापाका विभिन्न सातवटा रोटरी क्लबहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष डक्टर आनन्दराज खनालले जानकारी दिए ।

‘किप नेपाल पोलियो फ्री’ भन्ने मुल नारासहित विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लबहरुले बिर्तामोडमा संयुक्त सचेतनामुलक प्रभातफेरी निकालेका हुन् ।

प्रभातफेरीमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका रोटरी क्लब अफ काँकरभिट्टा, भद्रपुर, बिर्तामोड, बिर्तामोड मिडटाउन, दमक, मेचीनगर र इलामसहित सातवटा क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।

बिर्तामोडस्थित मुक्तिचोक परिसरबाट ’बाईबाई पोलियो, शान्त बसौँ र पोलियोको शिकार नबनौँ, पोलियोको अन्त्य गरौँ, ‘किप नेपाल पोलियो फ्रि’ ‘विश्व पोलियो दिवस सफल पारौँ’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित विभिन्न सचेतनामुलक नारा लेखिएका र रोटरीको लोगो अंकित टिसर्ट र क्याप लगाएर निस्केका सहभागीहरुले शनिश्चरेरोड, हिकोलारोड, काँकरभिट्टारोड, भद्रपुररोडसहित बिर्तामोड बजारको मुख्य भागको परिक्रमा गरेका थिए ।

बजार परिक्रमापछि सोही स्थानमा आएर र्‍याली संक्षिप्त सभामा परिणत भएको थियो । रोटरी क्लबका एजी कुमारमणि पोखरेलले संक्षिप्त सभालाई सम्बोधन गर्दै रोटरीले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रमको समापनमा बोल्दै एजी पोखरेलले पोलियोलाई अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताए । उनले पोलियो उन्मूलनका लागि रोटरीले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । कार्यक्रममा एजी सुजन प्रधान, विनोद बस्नेतसहित रोटरी र रोट्रयाक्ट क्लबहरूका सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer