मेचीनगर, कात्तिक २० । झापाको मेचीनगर–९ धुलाबारीमा रहेको सातपाखे रिसोर्टमा भोलि बौद्धिक श्रम तथा सांगीतिक काव्य अभियानको पहिलो अध्याय हुने भएको छ ।
सातपाखे ब्यान्डको आयोजनामा कला, साहित्य र संगीतकर्मीलाई जोड्न कात्तिक २१ गते बुधबार ४ बजे कार्यक्रमको आयोजना गरिएको आज प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
देशविदेशमा ख्याति कमाएका चर्चित कला, साहित्य संगीतिक क्षेत्रका अब्बल व्यक्तित्व र समाजमा उदयीमानको रुपमा पहिचान बनाउँदै आएका नयाँ पुस्ताबीच समन्वय र सहयात्राका लागि यस कार्यक्रमले जोड्ने आयोजक समितिका अध्यक्ष राजेश पराजुलीले बताए ।
कार्यक्रममा वरिष्ठ गीतकार शिवशंकर थापा, वरिष्ठ संगीतकार भरत लामाका साथ कविता वाचन तथा गीतभावमाथि चित्र सिर्जना गरिनेछ ।
पुराना कालजयी गीतहरु गुञ्जाएर नयाँ पुस्तामाझ सन्देश प्रवाह गरिने कार्यक्रममा राष्ट्रिय कलाकार कमल रसाइली र उत्तमजंग लिम्बूको प्रस्तुति रहनेछ ।
त्यस्तै, आर्ट विधाका ख्यातिप्राप्त कलाकार छितेन शेर्पाले लाइभ पेन्टिङ गर्नेछन् भने नयाँ पुस्ताका युवाले पनि पेन्टिङमा भाग लिने बताइएको छ ।
Comments are closed