बिर्तामोड, कात्तिक २३ । अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई झाडीमा फाल्ने आमालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा–६ घर भई हाल काठमाडौँ बस्दै आएकी २८ वर्षीया मेनुका धिताल रहेकी छन् ।
मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालयनजिकै झाडीमा धितालले १० दिने शिशु फ्यालेको प्रहरीले जनाएको छ ।
धितालले धारापानीस्थित दिदीको घरमा आएको बेला आफ्नो १० दिने शिशु (बालक) लाई झाडीमा फालेको स्वीकार गरेकी छन् ।
गत मंगलबार साँझ झाडीबाट शिशु रोएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीे टोलीले घटनास्थलबाट शिशुको उद्दार गरेको थियो ।
शिशु फाल्ने महिलाको खोजतलासका क्रममा स्थानीयले दिएको जानकारीअनुसार शिशुकी आमा धिताललाई उनको दिदीको घरमा भेटाएको प्रहरीले जानकारी दिएको छ ।
चार वर्षअघि सडक दुर्घटनामा श्रीमान गुमाएकी धिताले फेसबुकबाट चिनजान भएको युवकसँगको अवैध सम्बन्धबाट शिशु जन्मिएको स्वीकार गरेकी छन् ।