बिर्तामोड, पुस ८ । झापाको हल्दिबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्ध्याकरण शिविर आजबाट सुरू भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने शिविरमा १४४ कुकुरहरूको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिए । यसका लागि गाउँपालिकाले ४ लाख रुपैयाँ खर्च गर्नेछ ।
कुकुरको आक्रमणबाट जनधनको हुनसक्ने क्षतिबाट बच्नको लागि पाँचवटै वडाका सामुदायिक कुकुरको बन्ध्याकरण गरिनेछ ।
सामुदायिक कुकुरका कारण सडक दुर्घटनासमेत हुने भएकाले शिविरले यसको संख्या नियन्त्रणसँगै जोखिम पनि कम हुने गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले बताए ।
शिविरमा हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाको प्राविधिक सहयोग रहेको छ । शिविरमा संस्थाका अध्यक्ष डक्टर दिलिप सापकोट र डक्टर सिजन सैजुको टिमले सामुदायिक कुकुरहरूको बन्ध्याकरणमा सहजीकरण गर्नेछन् ।
कुकुरहरूमा बन्ध्याकरण गर्दा रेबिजविरुद्धको खोप पनि लगाइने पशुपंछी तथा मत्स्य विकास शाखाकी प्रमुख सानुमाया श्रेष्ठले बताइन् ।
शिविर उद्घाटन कार्यक्रममा वडा अध्यक्ष देवीबहादुर थापालगायत जनप्रतिनिधि, सञ्चारकर्मी, कर्मचारीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।