बिर्तामोड, पुस २६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) कोशी प्रदेशको दोस्रो अधिवेशन एक महिना सरेर माघ अन्तिममा हुने भएको छ ।
यसअघि पुस २७ र २८ गते हुने भनिएको अधिवेशन माघ २६ र २७ गते विराटनगरमा हुने भएको वरिष्ठ उपाध्यक्ष नरेन्द्र बरालले जानकारी दिए ।
यसैबीच, अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । बैठकले अर्थ संकलन उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बराल, आवास प्रबन्ध उपसमिति संयोजकमा सदस्य खेमराज बस्नेतलाई चयन गरिएको छ ।
त्यस्तै, भोजन प्रबन्ध उपसमिति संयोजकमा खुद्रा उपाध्यक्ष धनबहादुर काफ्ले, अतिथि सत्कार उपसमिति संयोजकमा सचिव झरना न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
हल व्यवस्थापन उपसमिति संयोजकमा सदस्य दिलिप सुवेदी र उपहार व्यवस्थापन उपसमिति संयोजकमा थोक उपाध्यक्ष सूर्यप्रसाद कोइरालालाई चयन गरिएको छ ।
संघको बैठकले अधिवेशनमा निर्वाचन कार्यक्रमका लागि वरिष्ठ अधिवक्ता गणेशराज लुइँटेललाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन समितिले कार्यक्रम सार्वजनिक गरेको छ ।
संघमा कोशी प्रदेशको हालको कार्यसमिति सदस्य, साविक कोशी र मेची अञ्चलका पूर्वअध्यक्षहरु, संखुवासभा, सुनसरी, तेह्रथुम, झापा, इलाम, उदयपुर खोटाङ र मोरङ जिल्ला कार्यसमितिका सदस्य मतदाता रहने छन् ।
त्यस्तै, धनकुटा र भोजपुर, ताप्लेजुङ र पाँचथर तथा ओखलढुंगा र सोलुखुम्बु संयुक्त जिल्ला समितिका कार्यसमितिका सदस्यसहित १३१ जना मतदाता रहेका छन् ।
Comments are closed