
बिर्तामोड, कात्तिक २८ । हालै आएको नयाँ रिपोर्टले गर्भावस्थामा पारासिटामोल लिने र बच्चाहरूमा अटिजम वा एडिएचडी हुने जोखिमबीच कुनै ठोस सम्बन्ध फेला नपारेको देखाएको छ । व्यापक अध्ययनहरूको आधारमा डाक्टरहरूको टोलीले यो औषधिलाई आफूले खतरनाक नदेखेको भनेका छन् ।
पारासिटामोल विश्वमा सबैभन्दा बढी प्रयोग हुने दुखाइ कम गर्ने औषधि हो । अमेरिकामा मात्रै झन्डै आधाजसो गर्भवतीले यसको सेवन गरिरहेका छन् । हालैका वर्षमा बच्चाहरूमा अटिजमका घटनाहरू द्रुत रूपमा बढेका छन् । वैज्ञानिकहरूले यस पछाडिका कारणहरू बुझ्ने प्रयास गर्दा केही रिपोर्टले गर्भावस्थामा पारासिटामोलको प्रयोग यसको एउटा कारक हुन सक्ने बताएको थियो ।
बच्चामा अटिजम बढ्नुको कारण पारासिटामोलको प्रयोग नभएर निदानमा समस्याहरूको कारण भएको विशेषज्ञहरू बताउँछन् । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित अहिलेसम्मकै सबैभन्दा ठुलो समीक्षामा बच्चाहरूमा अटिजम विकास गर्ने कारक पारासिटामोल हो कि होइन भनेर विशेषज्ञहरूले ४० वटा अध्ययनसहित अघिल्लोपटक भएका व्यवस्थित नौवटा समीक्षाको विश्लेषण गरेका थिए ।
के भन्छन् विज्ञ ?
‘महिलाहरूले यो कुरामा सचेत हुनुपर्छ कि हालको प्रमाणले पारासिटामोल र अटिजमबीच कुनै सम्बन्ध पुष्टि गर्दैन । गर्भवतीहरूले ज्वरो वा दुखाइ कम गर्न पारासिटामोलको सेवन गर्न आवश्यक छ भने यसमा कुनै समस्या हुँदैन,’ इङ्गल्यान्डकी लिभरपुल विश्वविद्यालयकी सल्लाहकार तथा अध्ययनकी प्रमुख लेखिका प्रोफेसर शकिला थाङ्गराथिनमले भनेकी छन् । गर्भावस्थामा उच्च ज्वरो बच्चाका लागि खतरनाक हुन सक्छ, त्यसैले समयमै उपचार आवश्यक छ । यस उद्देश्यका लागि पारासिटामोल लामो समयदेखि प्रयोग गरिँदै पनि आइएको छ ।

धेरैजसो समीक्षाहरूले गर्भावस्थामा पारासिटामोलको प्रयोग र बच्चाहरूमा अटिजमबीच कुनै पनि सम्बन्धलाई अस्वीकार गरेका छन् । केही अध्ययनहरूले भने यसको प्रयोगमा चिन्ता व्यक्त गरेका छन् । तर, धेरैजसो विशेषज्ञहरूले पारासिटामोललाई सुरक्षित मान्छन् । दुई अध्ययनले भने आनुवंशिकी र गर्भवतीको चिकित्सा इतिहासजस्ता अन्य कारकहरूको आधारमा बच्चाहरूमा अटिजमको जोखिमबारे चिन्ता व्यक्त गरेको थियो ।
२० लाखभन्दा बढी स्विडेनी बालबालिकाहरू सामेल अर्को समीक्षाले गर्भावस्थामा पारासिटामोल लिने आमाहरूमा अटिजम र ध्यानमा कमीसँग सम्बन्धी विकारको दर अलि बढी रहेको पत्ता लगाएको छ । तर, विज्ञहरूले पारासिटामोल र यसको साइड इफेक्टबारे अन्य धेरै कारक जिम्मेवार रहेको मान्छन् । पहिलेका अध्ययनहरूले पनि अलर्ट गराएको थियो । तर सुरक्षित मात्रामा पनि पारासिटामोलको अत्यधिक प्रयोग खतरनाक हुन सक्ने डाक्टरहरूको टोलीले निष्कर्ष निकालेको छ ।





