२०८२ फागुन १ शुक्रबार
Jhapa Today
Adv top

झापा गोल्डकपमा आज फाइनल प्रवेशका लागि झापा ११ र एपिएफ खेल्दै


बिर्तामोड, फागुन १ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज आयोजकको टिम झापा ११ फुटबल क्लबले पहिलो सेमिफाइनल खेल विभागीय टोली एपिएफ फुटबल क्लबविरुद्ध खेल्दैछ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे बिर्तामोडकै क्लब झापा ११ ले जारी राष्ट्रिय लिगमा तेस्रो स्थानमा रहेको ए डिभिजन क्लब एपिएफसँग फाइनल प्रवेशका लागि खेल्दैछ । आजको खेल जित्नेले कम्तिमा सात लाख ५० हजार रुपैयाँ सुरक्षित गर्नेछ ।

एपिएफ अनुभवी प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षण तथा हरि कार्कीको कप्तानीमा प्रदिप लामा, युवराज खड्का, बुद्धिमान राई, मणिकुमार लामासहित आज झापा ११ विरुद्ध उत्रिदैछ । कप्तान कार्की जारी प्रतियोगितामा ह्याट्रिक गर्ने एक्ला खेलाडी हुन् ।

झापा ११ लाई स्थानीय समर्थकको दह्रिलो साथ रहनेछ । अधिकांश खेलाडी झापाकै भएका कारण पनि उनीहरु उच्च मनोबलका साथ एपिएफविरुद्ध मैदानमा हुनेछन् । प्रशान्त लक्समको कप्तानीमा रहेको झापासँग राष्ट्रिय टोलीका सदस्य रोहण कार्कीसहित समिर तामाङ, एरोन थापा, रोमन भुजेल, राजेश दाहाल र दुई विदेशी खेलाडी रहनेछन् ।

झापा ११ ले प्रिक्वार्टर फाइनलमा नेपाल पुलिस क्लबलाई २-० ले र क्वार्टर फाइनलमा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

त्यस्तै, एपिएफले सिधै क्वार्टर फाइनल खेल्दै भुटानको रोयल थिम्पु कलेजमाथि शानदार जित दर्ता गरेको थियो । भुटानलाई ४-१ गोल अन्तरले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको थियो ।

यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

Adv footer