२०८२ फागुन ७ बिहीबार
Jhapa Today
Adv top

जान्नुहोस् दैनिक कति मात्रामा नुन सेवन गर्ने


बिर्तामोड, फागुन ७ । शरीर सञ्चालनका लागि सोडियम एक अनिवार्य तत्त्व हो, तर यसको मुख्य स्रोत मानिने नुनको अनियन्त्रित प्रयोगले फाइदाभन्दा बढी नोक्सान पुऱ्याइरहेको छ। 

आयुर्वेद र आधुनिक विज्ञान दुवैले नुनलाई आवश्यक तर खतरनाक वस्तुका रूपमा व्याख्या गरेका छन्। अहिलेको बदलिँदो जीवनशैलीमा हामीले खाने पिठोदेखि ब्रेडसम्म सोडियमको प्रयोग हुने भएकाले जानेर वा नजानेर हामी दैनिक आवश्यकताभन्दा बढी नुन उपभोग गरिरहेका छौँ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार एक स्वस्थ व्यक्तिका लागि दैनिक ५ ग्राम नुनको सेवन पर्याप्त हुन्छ। यो भनेको करिब एक सानो चम्चा हो। 

यसमा हामीले तरकारीमा हाल्ने साधारण नुन र प्याकेज गरिएका खानेकुरामा हुने ‘लुकेको सोडियम’ दुवै समावेश हुन्छ। तर, दक्षिण एसियाली र विशेष गरी नेपाली जीवनशैलीमा दैनिक १० देखि १२ ग्रामसम्म नुन खपत हुने गरेको पाइएको छ, जुन निर्धारित मापदण्डभन्दा दोब्बर हो।

लामो समयसम्म आवश्यकताभन्दा बढी नुन खाँदा उच्च रक्तचाप, हड्डी कमजोर हुने, शरीर सुन्निने, यूरिक एसिड बढ्ने र मिर्गौलामा अत्यधिक चाप पर्ने जस्ता समस्या देखिन्छन्। यसले रगत पातलो बनाउने मात्र नभई शरीरमा पानीको कमी गराएर अनुहारमा समयभन्दा पहिल्यै चाउरीपना समेत निम्त्याउँछ। 

स्वादका लागि खाइने नुनले बिस्तारै शरीरमा विषको काम गरिरहेको हुन्छ। नुनको नकारात्मक असरबाट बच्न सधैँ सेतो नुन मात्र प्रयोग नगरी सिधे नुन मिसाएर खानु स्वास्थ्यवर्द्धक हुन्छ। 

त्यस्तै, सलाद वा फलफूलमा छुट्टै नुन वा चाट मसला छर्कने बानीले शरीरमा नुनको मात्रा ह्वात्तै बढाउने भएकाले यसबाट बच्नुपर्छ। रातिको समयमा नुनिलो खानेकुरा कम खानु उपयुक्त हुन्छ भने दही वा लस्सीमा सेतो नुनको सट्टा जिरा र हल्का सिधे नुन प्रयोग गर्नु फाइदाजनक मानिन्छ।

Adv footer