२०८२ फागुन २१ बिहीबार
Jhapa Today
Adv top

घुसपैठ र सुरक्षा थ्रेटको विश्लेषण गर्दै झापा-५ मा विशेष निगरानी


बिर्तामोड, फागुन २१ । आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ मा सुरक्षा निकायले विशेष निगरानी बढाएको छ । झापा–५ मा सुरक्षा सतर्कता बढाइएको हो ।

झापा–५ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एक दर्जनभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । काठमाडौँ र मधेश प्रदेशबाट नउठेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह झापाबाट उठ्नु सामान्य नभएको आँकलन गृह मन्त्रालयले गरेको छ ।

अर्कोतर्फ एमाले अध्यक्ष ओलीमाथि पनि सुरक्षा थ्रेट रहेको सुरक्षा निकायको निष्कर्ष छ । केन्द्रीय सुरक्षा समितिको बैठकमा ठुला दलका उम्मेदवारमाथि हुनसक्ने सम्भावित ‘आक्रमण’ लगायत विषयमा समेत सुरक्षा निकाय अलर्ट रहनुपर्ने उच्च स्रोतले बतायो ।

यी निर्वाचन क्षेत्रमा मौन अवधिमा पनि दलीय गतिविधि बढ्ने, उम्मेदवारकै सुरक्षा चुनौती रहन सक्ने र आर्थिक चलखेल हुने आशंकामा सुरक्षा सतर्कता बढाइएको सुरक्षा स्रोतले जनाएको छ ।

गृहमन्त्री ओम प्रकाश अर्यालले बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत हेभिवेट उम्मेदवार उठेका क्षेत्रमा विशेष निगरानी गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार उम्मेदवारमाथि हुनसक्ने सुरक्षा थ्रेटलाई समेत विश्लेषण गरेर सुरक्षा तैनाथी बढाउन गृहमन्त्री अर्यालले निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार अहिले यी क्षेत्रमा सादा पोशाकमा व्यापक रूपमा सुरक्षाकर्मी खटाइएको छ । उम्मेदवारका गतिविधि, उनीहरूलाई भेट्न पुगेका व्यक्तिको गतिविधिमा समेत नजिकबाट निगरानी गरिएको छ ।

Adv footer