
बिर्तामोड, बैशाख ८ । बजारमा देखिएको ग्यास अभाव टार्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति ग्यास व्यवसायीले नमान्ने घोषणा गरेका छन् ।
ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो (पूरा) तौलकै ग्यास सिलिन्डर बिक्री गर्ने घोषणा गरेका हुन् ।

ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघबीच आज भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको ग्यास विक्रेता महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिए ।

अध्यक्ष अर्यालका अनुसार डिजेल मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण ढुवानी खर्च धान्न नसकिने अवस्था आएपछि व्यवसायीहरू यो कदम चाल्न बाध्य भएका हुन् ।
अध्यक्ष अर्यालले सरकारले यसअघि आधा सिलिन्डर (७.१ किलो) मात्रै भर्ने निर्णय गरे पनि त्यसले व्यवसायी र उपभोक्ता दुवैलाई मार परेको बताएका छन् ।
‘हामीले सोमबारदेखि १४.२ किलोकै ग्यास बेच्ने सर्वसम्मत निर्णय गरेका छौं,’ उनले भने, ‘यदि सरकारले डिजेलको ढुवानी खर्च उपलब्ध नगराए हामी कारोबार नै गर्न नसक्ने अवस्थामा पुग्छौं, यसबारे भोलि सरकारलाई औपचारिक जानकारी दिनेछौं ।’
अध्यक्ष अर्यालले नेपाल आयल निगमको अदूरदर्शी नीतिका कारण आगामी दुई महिनाभित्र नेपालमा ग्यासको चरम अभाव हुन सक्ने चेतावनी समेत दिएका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार अहिले उद्योगका सबै बुलेट ग्यासले भरिभराउ छन् र बजारमा पूर्णक्षमताको सिलिन्डर पठाउन कुनै समस्या छैन ।
आधा सिलिन्डर मात्र बेच्न पाइने नियमले गर्दा मौज्दात (स्टक) मा रहेको ग्याससमेत बिक्री गर्न कठिन भइरहेको उद्योगीको भनाइ छ ।
आधा तौलका धेरै सिलिन्डर उपभोक्ताको घरमा थन्किएपछि भारतबाट आएका ग्यास बुलेट उद्योगमा अनलोड हुन नसकेको उद्योगीले बताउँदै आएका छन् ।
हाल ७.१ किलोका सिलिन्डर मात्रै बजार पठाउँदा र ग्यासका बुलेट समयमै अनलोड नगर्दा सबै बुलेट जाम भएर बसेका छन् ।
‘अहिलेको अवस्थामा सबै बुलेट होल्ड गराएर राखिएको छ, नेपाल आयल निगमले कानमा तेल हालेर बस्ने हो भने दुई महिनापछि नेपालमा ग्यासको हाहाकार हुने पक्का छ,’ अर्यालले भने ।
व्यवसायीहरूले यसअघि नै सरकारसँग सम्बन्धित व्यक्तिहरूसँग पटक–पटक छलफल र अन्तर्क्रिया गरे पनि सरकारले कुनै सकारात्मक पहल नगरेको गुनासो गरेका छन् ।






