२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

‘बलात्कारीलाई मृत्युदण्डको कानुन आवश्यक’


बिर्तामोड, असोज १४ । बलात्कारका घटनामा संलग्न पुरुषलाई कानुन संशोधन गरेर भए पनि मृत्युदण्डको सजाय दिइनुपर्ने कुरामा झापाका महिला अधिकारकर्मीले जोड दिएका छन् ।

रिपोर्टर्स क्लबले बिर्तामोडमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सहभागी उनीहरुले बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई केही वर्षको सजाय वा आजीवन कारावास सजायले नपुग्ने उनीहरुको धारणा थियो ।

संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्छ भनेर आवाज उठाएरहेका बेला यसलाई कानुन बनाउनुपर्ने उनीहरुको एक आवाज थियो । महिला हिंसा र बलात्कारका घटनामा कमि आउनुको सट्टा बृद्धि हुँदै जानुमा कानुन नै फितलो भएको उनीहरुको निष्कर्ष थियो ।

कार्यक्रममा नेपाल महिला संघ झापाकी अध्यक्ष सुशीला ढकालले बलात्कारी राख्ने जेल पनि अलग्गै हुनुपर्ने बताइन् । पैसा र शक्तिको आडमा अपराधीहरुले सजाय नपाउनु विडम्बना भएको उनको भनाइ थियो ।

त्यस्तै, कानुन व्यवसायी कोपिला खड्का बस्नेतले मृत्युदण्डको व्यवस्था गरिएका देशमा पनि बलात्कारका घटनामा कमि नआएकाले मानिसको आचरण र व्यवहारमै परिवर्तन गर्न जरुरी रहेको बताइन् । उनले समास्याको जड पहिचान गरेर सजाय उल्लेख गर्नुपर्ने जिकिर गरिन् ।
नारी सञ्चारगृह झापाकी अध्यक्ष अम्बिका भण्डारीले बलात्कारीलाई मृत्युदण्डको सजाय उपयुक्त भएको बताइन् । त्यसका लागि अन्तर्राष्ट्रिय सन्धिमा परिमार्जन गर्नुपर्नेमा उनको जोड थियो ।

राप्रपा नेतृ रञ्जु प्याकुरेलले बलात्कारका घटना हुनुको कारणको गहिरो अध्ययन आवश्यक रहेको बताइन् । राज्य यस विषयमा सम्वेदनशील हुनुपर्नेमा उनको जोड थियो । अन्तर पार्टी महिला सञ्जाल झापाकी अध्यक्ष सरु न्यौपानेले भइरहेको कानुनको प्रभावकारी कार्यान्वयन भए मात्र पनि बलात्कारका घटनामा कमि आउने विचार राखिन् ।

मेची महाकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष शिखा खड्काले बलात्कारीलाई फाँसीको सजायको व्यवस्था हुनुपर्ने बताइन् । उनले त्यसका लागि सरकारले विद्यमान कानुन संशोधन गर्न हावश्यक रहेको उल्लेख गरिन् । कार्यक्रमको सहजीकरण क्लबका अध्यक्ष शेखर सेढाईंले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer