२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

रेजिनले फुटबल फाइनल गुमाउने


झापा । नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीका फरवार्ड झापाका रेजिन सुब्बाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार हुने फाइनल खेल गुमाउने भएका छन् । नेपालले दशरथ रंगशालाम दिउँसो ३ बजे स्वर्ण रक्षाको लागि भुटानसँग खेल्दैछ ।

रेजिनले लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतियोगिताको दोस्रो पहेंलो कार्ड खाएपछि अन्तिम खेल गुमाउने भएका हुन् । त्यसअघि उनले श्रीलंकाविरुद्ध खेलमा पनि पहेंलो कार्ड खाएका थिए । रेजिनले पछिल्ला खेलहरुमा सुरुवाती रोजाईमा खेल्दै आक्रमणमा कप्तान सुजल श्रेष्ठसँग राम्रो साझेदारी गर्दै आएका थिए ।

नेपालको लागि उमेर समूहका टोलीमा राम्रो प्रदर्शन गरेका रेजिन यू-१९ टोलीको कप्तान समेत हुन् । उनी एन्फा एकडेमीका उत्पादन पनि हुन् । रेजिनले जारि प्रतियोगितामा गोल नगरेपनि अग्रपंक्तिमा प्रभावशाली खेलाडीका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

रेजिनको अनुपस्थितिमा प्रशिक्षक बालगोपाल महर्जनले टोलीमा नितिन थापालाई मौका दिन सक्छन् । लिग चरणमा भुटानविरुद्ध पहिलो खेलमा रेजिन बेन्चमा रहँदा नितिनले पहिलो रोजाईमा खेलेका थिए । त्यसबेला अभिषेक रिजाल र सुजलले अग्रपंक्ति सम्हाल्दा नितिन मिडफिल्डमा खेलेका थिए ।

प्रशिक्षक महर्जनले फरवार्डका रुपमा राजेश परियार, प्रेजेन तामाङ र राजीव लोप्चनलाई पनि खेलाउने सम्भावना छ । तर जारि प्रतियोगितामा धेरै खेल्ने समय नपाएका कारण पुरानै समीकरणलाई महर्जनले निरन्तरता दिन सक्छन् । (हाम्रो खेलकुदबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer