२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चाइनिज ताइपेइमाथि नेपालको सहज जित


बिर्तामोड, जेठ २१ । अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल मद्दतमा नेपालले चाइनिज ताइपेइमाथि महत्वपूर्ण तथा सहज जित निकालेको छ ।

कुवेतको जाबेद अल–अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न विश्वकप छनोट अन्तर्गत बिहीबार राति सम्पन्न समूह ‘बि’ को खेलमा नेपालले २–० को जित निकालेको हो ।

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौँ खेलमा नेपालले चाइनिज ताइपेइमाथि जित दर्ता गरेको हो ।

पहिलो हाफमा नेपालले एक गोलले अग्रता बनाएको नेपालले दोस्रो हाफमा अर्को गोल थपेको थियो । नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अञ्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो ।

सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । अञ्जनको यो जारी विश्वकप छनोटमा तेस्रो गोल हो । इराकसँगको मैत्रीपूर्ण खेलमा पनि विष्टले सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै, ६९ औँ मिनेटमा सुनिल बलको स्थानमा सब्चिट्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले दोस्रो गोल गरे । उनले खेलको ८१ औँ मिनेटमा गोल थप्दै नेपालको अग्रता दोब्बर बनाएका थिए । सुरुबाटै आक्रामक खेलमा उत्रिएको नेपालले पटकपटक आक्रमण बनाएको थियो ।

यो जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

अस्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५–५ खेलमा समान १०–१० अंक रहेको छ । आज हुने दोस्रो खेलमा अस्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।

यसैबीच, नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले प्रशिक्षण सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न निस्केको नेपाली टोलीले यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा इराकसँग ६–२ गोलअन्तरले पराजय ब्यहोरेको थियो ।

नेपाल र ताइपेइ विश्वकप क्वालिफायर्सको समूह ‘बि’ मा चौथो र पाँचौँ स्थानमा छन् । यसअघि सबै ’अवे’ खेल खेलिसकेको नेपालले अब ’होम गेम’ का खेल मात्र खेल्न बाँकी छ । होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ । यसअघिको खेलमा पनि नेपालले चाइनिज ताइपेइमाथि २–० कै जित निकालेको थियो ।

नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन् । नेपालले अब छनोटको सातौँ खेलमा जोर्डनको सामना गर्नेछ । खेल सोमबार रातको ९ः४५ बजे हुनेछ ।

जित अग्रपंक्तिका स्वास्थ्यकर्मी समर्पण – प्रशिक्षक अल मुताइरी

प्रशिक्षक अल मुताइरीले चाइनिज ताइपेइविरुद्ध विश्वकप छनोटमा प्राप्त गरेको जित अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन् । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अल मुताइरीले भने, ‘यो जित नेपाली समर्थकका लागि हो । विशेषगरी अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीका लागि । उहाँहरुले मिहिनेत गरेकै कारण हाम्रो खेलाडीले पनि यहाँसम्म आउन सके ।’

प्रशिक्षक अलमुताइरीले आफ्नो जितको खुसी नेपाल मात्र नभएर कुवेतको लागि पनि उत्तिकै रहेको बताए । ‘मैले नेपाल र कुवेत दुवैको प्रतिनिधित्व गरिरहेको छु । कुवेतका सबैलाई पनि बधाई दिन चाहन्छु । कुवेत बाहिर गएर कुनै पनि प्रशिक्षकले अन्तर्राष्ट्रिय खेल जितेको यो नै पहिलो अवसर हो । यो जितले मेरो लागि निकै महत्व बोकेको छ’, खेलपछि खुसी साट्दै उनले भने ।

प्रशिक्षक अलमुताइरीले नेपाली फुटबलका लागि यो सुरुवात मात्र भएको बताए । ‘यो जित हासिल गर्न सहज थिएन । हामीले निकै मिहिनेत गरेर अघि बढेका थियौँ । मलाई विश्वास गर्ने एन्फा, राष्ट्रिय खेलकुद परिषद, ओलम्पिक कमिटी लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु’, उनले भने ।

‘यो भर्खर सुरुवात हो । हामीले आफ्नो लक्ष्यमा पुग्न बाँकी नै छ । अब हामी एसिया कप छनोट तेस्रो चरण र साफ च्याम्पियनसिपको फाइनल खेल्ने लक्ष्यमा छौँ । केही धैर्य गर्नुहोस् । हामीले अझै धेरै हेर्न बाँकी छ’, उनले थपे ।

प्रशिक्षक अलमुताइरीले खेलको तयारीमा टोलीले गरेको मिहिनेतकै कारण जित सम्भव भएको बताए । ‘हामीले चाइनिज ताइपेइको खेल अध्ययन गरेका थियौँ ।

‘पछिल्लो खेलबाट टोलीमा केहि परिवर्तन गर्न जरुरी थियो । विपक्षी टोलीले पनि हामीलाई अध्ययन गर्छन् भन्ने थाहा थियो । त्यसैले, आशिष र सुनिलबारे उनीहरुलाई जानकारी छैन भनेर उतारेको हो’, उनले थपे, ‘दोस्रो हाफमा खेलाडी परिवर्तन गराउने हाम्रो रणनीति नै थियो । मनिष र नवयुगले पनि त्यसै गर्न सके । ताइपेइले पनि राम्रो प्रदर्शन गरेको थियो, तर हामीले राम्रो अध्ययन गरेकाले सहज भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer