२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

भाक्का दिवसले नछोइएका ढापा राजवंशीहरु


बिर्तामोड, पुस २९ । झापाको बिर्तामोडमा धुमधाम तरिकाले भाक्का दिवस मनाउन थालेको सात वर्ष भयो । हिउँदमा बेटछेउ भाक्का बेच्ने आदिवासी महिलाहरुलाई दिवसले छोएकै छैन ।

बिर्तामोड ९ टांगाबारीकी ढापा राजवंशीले एकाबिहानै उठेर जाडोमा गाउँघरमा भाक्का बेचिहिँड्दा ११ वर्ष भयो । पाँच किलो चामलको पिठोको भाक्का बेच्दा उनी मुस्किलले पाँच–सात सय रुपैयाँ कमाउँछिन् ।

त्यही आम्दानीबाट एकल महिला ढापाले गुजारा गर्नु परिरहेको छ । कहिले उनी एकैठाउँमा बसेर बेच्छिन् भने कहिले ढाकीमा भाक्का राखेर गाउँघरमा बेच्दै हिँड्छिन् ।

वर्षौंदेखिको उनको पेसाको प्रवर्धन हुन सकेन । भाक्का बेचेर राम्ररी जीवनयापन गर्न आदिवासी महिलाहरुलाई गाह्रो परिरहेको हो । बिहान ४ बजे भाक्का बनाउने गरेको र भाक्कालाई ढाकीमा राखेर गाउँघरमा बेच्ने गरेको उनले बताइन् ।

जाडोमा भाक्का बेच्दै आएकोमा केही महिनाका लागि जेनतेन गुजारा चल्ने गरेको उनले सुनाइन् । जाडोयामको तीन महिना भाक्का बेच्ने गरेकी ढापा अरु महिना कामविहीन हुने गरेकी छन् ।

भाक्कालाई दिवसको रुपमा मनाइरहँदा भाक्कावालीहरुको पेसा भने प्रवर्धन हुन सकेको छैन । चोक र बाटोको पेटीमै धुलोमैलोमा भाक्का बेच्नेहरु अव्यवस्थित छन् ।

भाक्कालाई दिवसको रुपमा प्रचार गरिरहँदा भाक्कालाई व्यवसायको रुपमा प्रवर्धन गर्न नसकिएको राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी बताउँछन् ।

उनले गत वर्ष आफ्नो संस्थाले बिर्ताबजार र सैनिकमोडमा भाक्का बेच्ने महिलाहरुलाई उपयुक्त ठाउँमा व्यवस्थित गर्न वडा कार्यालयलाई आग्रह गरेकोमा अझै उनीहरु सडकको पेटीमा भाक्का बेच्न बाध्य भएको बताए ।

भाक्कालाई व्यवसायीकरण गर्न सकिएको छैन । राजधानीमा गैरआदिवासीहरुले व्यावसायिक रुपमा भाक्का बेच्न थालेको निकै भइसक्यो । इलामको श्रीअन्तुलगायतका ठाउँमा पनि अन्य समुदायका महिलाहरुले भाक्का बेचेर राम्रो आम्दानी गरिरहेका छन् ।

तर, आदिवासीहरुले आफ्नो मौलिक जातीय परिकार भाक्का बेचेर गरिखान सकिरहेका छैनन् । स्वादिष्ट परिकार बनाउने कला भएका आदिवासीहरुले भाक्कालाई पनि जीविकोपार्जनको गतिलो माध्यम बनाउन सकिने राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष राजवंशी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer